दमक । सरकारी विद्यालयको जमिनमा निजी विद्यालय सञ्चालनमा आउँदा पनि नगरपालिकाले चासी नदिएको भन्दै दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । 

दमक–९ मा सरस्वती माध्यमिक विद्यालय ब्यवस्थापन समितिले दमक–८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन भएको र उक्त विद्यालय हटाउन पटकपटक नगरपालिकालाई आग्रह गर्दै आएको थियो । नगरपालिकाले उक्त निजी विद्यालय हटाउन नचाहेको भन्दै सरस्वती मावि ब्यवस्थापन समितिले मंगलबार तालाबन्दी गरेको हो । विद्यालयको नाममा रहेकाे जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ ।

नयाँ शैक्षिक सत्रदेखि विद्यालयलाई हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय गरेको थियो । नयाँ शैक्षिक सत्रको वैशाख अन्तिम भइसक्दासमेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । नगरपालिकाले प्रतिबद्धता पूरा नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको उनले बताए ।

गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन । उसले ०७३ सालदेखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए । तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज अवरुद्ध भएको छ ।