झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बिकारालको रुप लिइँदै आएको लागूऔषधकाे कारोबार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा बुधबार पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक लिम्बूले खुल्ला सीमाकाे फाइदा उठाउँदै लागुऔषध सेवन, ओसारपसार र बेचबिखन बढेको भन्दै त्यसको नियन्त्रणका लागि रणनीति नै बनाएर अघि बढ्ने बताएका हुन् ।

झापामा सञ्चालित पाँचतारे होटलहरूमा हुने गरेको अबैध तरिकाले खेलाइने क्यासिनोमा निगारानी बढाउने बताए ।

नेपालीलाई भारतीय नागरिक बनाएर प्रवेश गराउने र झापाका उद्योगी व्यापारीहरू आर्थिक संकटमा परेर आत्महत्या गर्नेक्रम बढेपछि  प्रहरीले निगरानी बढाएको उनको भनाई थियोे ।

उनले नाकाबाट हुने अबैध कारोबार, तस्करी, अपहरण, चोरी-डकैती, सवारी दुर्घटना, ठगी, चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिलाई प्रहरीले निगरानी कार्वाही गर्ने बताएका थिए ।

सहभागी पत्रकारले सीमा क्षेत्रकाे समस्यामा प्रहरीले चासो दिन, मौलाउँदै आएको लागुऔषध नियन्त्रणका लागि भारतीय प्रहरी प्रमुखसँग सहकार्य गरेर नाका नजिकैको बजारमा लागुऔषध बिक्री बितरणमा रोक लगाउन, मोटरसाइकल, मोबाइल चोरी नियन्त्रणमा प्राथमिकता दिन, समस्यामा परेका पीडितलाई सहजीकरण गरेर प्रहरी कार्यालय प्रवेशमा सहज बनाउन, बालबालिकाको प्रयोग रोक्न सुझाव दिएका थिए ।
झापा आउँदा पत्रकारलाई अगाडि राखेर अपराध न्यूनीकरणको गतिविधि गर्छु भनेर प्रतिबद्धता जनाउने र पछी कार्यान्वयन नगर्ने प्रहरी प्रमुखको कार्यशैलीमाथि सहभागी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा उपरीक्षक लिम्बूले आफू रहिँन्जल परिणाम आउने गरी द्रुत गतिमा अपराध नियन्त्रणमा निरन्तरता दिइने बताएका थिए । उनले झापामा मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए । मानव बेचबिखन, हत्या-हिंसा, अपहरणलाई निरुत्साहित बनाउन समुदायसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । प्रहरी नायव उपरीक्षक (प्रवक्ता)  खगेन्द्रबहादुर खड्काले  सञ्चालन गरेका थिए ।