अर्जुनधारा । झापाको अर्जुनधारास्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजे अर्जुनधारा-११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर दुई बालकको ज्यान गएको हो ।

तेह्रथुम जिरीखिम्ती घर भई सोही ठाउँ बस्ने पूर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङका छोरा १२ वर्षीय महसुस गुरुङ र सोही ठाउँ बस्ने मुना गुरुङका छोरा १० वर्षीय सुजल गुरुङ पौडी खेल्ने क्रममा पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लिएर गएकोमा चिकित्सकले दुबै जनालाई ८ः२० बजे मृत घोषणा गरेका छन् ।

दुवै बालकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।