हल्दिवारी । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । संखुवासभा चैनपुर वडा नं- २ घर भई हाल हल्दिवारी वडा नं -४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्ने रामकुमार अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली खटिएर अधिकारीको शव पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
झापामा करेन्ट लागेर मृत्यु हुनेको संख्या उच्च छ । झापामा यो साउन महिनामा मात्र पाँच जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा करेन्ट लागेर झापामा १४ पुरुष र एक बालक गरी १५ जनाको मृत्यु भएको थियो ।























































