इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । सोमबार बिहान ७.१५ बजे भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित ३ जनाको मृत्यु भएको हो।
घाइते तथा मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। घाइतेहरूलाई उपचारको लागि सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए ।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ बस्ने वर्ष ३६ को गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट प्रहरी नायब उपरीक्षक सरोज सिंह समेतको टोली खटिएको प्रहरीले जनाएको छ























































