झापा । महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने बनाइएका छाँउगोठमै मृत्यु भएपछि प्रशासनले कञ्चनपुरमा ३९ वटा छाँउगोठ भत्काइएको छ।
समाजमा रहेको परम्परा र कुप्रथा रुपमा रहेको छाँउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको उनको भनाई थियो । ‘बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाँउगोठ भत्काइएको छ,’ उनले भने, ‘स्थानीय प्रतिनिधि, संघसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाँउगोठ भत्काइएको हो।’
गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाँउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाँउगोठ भत्काउन निर्देशन दिएको थियो। प्रशासनको निर्देशनपछि छाँउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाँउगोठ भत्काउन थालेका हुन्।
बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाँउगोठ भत्काएको जानकारी दिए। ‘हामीले छाँउगोठ भत्काएका छौं तर पुनः छाँउगोठ बनाइहाल्छन् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘छाँउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौं।’ उनले छाँउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए। कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा छाँउगोठ भत्काउने अभियान सञ्चालन गरेको बताए।
गत असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो।




















































