झापा । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी बिधेयक नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोसी प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा पत्रकारले बिहीबार आयोजना गरेको धर्नामा सम्बोधन गर्दै सहभागी बक्ताहरुले उक्त चेतावनी दिएका हुन् ।
प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था विधेयकका कतिपय प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेशका पत्रकारहरूले धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् । झन्डै पचास जनाबढी पत्रकारहरुले `प्रेस स्वतन्त्रतामाथिक्क हस्तक्षेप बन्द गर, `कोसी प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था विधेयक खारेज गर, `प्रेस स्वतन्त्रता हनन विरुद्धमा एक हौं´ लगायतका प्लेकार्ड, कालो पट्टी र ब्यानरसहित प्रशासनको गेट अगाडि धर्ना दिएका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता सम्पन्न धर्नामा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव चन्द्र भण्डारी र अध्यक्ष एकराज गिरीले संविधानले निदृष्ट गरेको पत्रकारको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रदेश सरकारले धावा बोलेको बताए ।
उनीहरुले विधेयक नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्  । प्रदेश सरकारले पेश गरेको बिधेयकभित्र समावेस गरेका बुदा सच्याइनुपर्नेमा जोद दिएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा भएको आन्दोलनमा प्रदेशस्तरमा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि पत्रकारहरूले धर्ना दिएका छन् । प्रदेशका अन्य १३ जिल्लामै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको पत्रकार महासंघ प्रदेशले जनाएको छ ।
नेपाल पत्रकार महासंघलगायतले दिएको सुझाव विपरीत प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेशसभामा पेस गरेको छ । सो विधेयकलाई भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकबाट पारित गर्ने तयारी गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
विराटनगरको रोडशेषमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयक नसच्चिएसम्म कडा आन्दोलन  गर्ने चेतावनी दिए ।