मेचीनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा सात बुदे प्रस्ताव राखेका छन् । विहीबार दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका ७ वटा विकास निर्माणका विषयमा मागहरु राखेका हुन् ।
मागहरुमा पूर्वी सीमाना काँकरभिट्टास्थित बसपार्क–सतिघट्टा सडकमा अण्डरपास तथा ओभरपास निर्माण, काँकरभिट्टाबाट प्यारीभिट्टा बसपार्कसम्म ६ लेनको सडक निर्माण, ईटाभट्टा चौकदेखि पश्चिम नगरपालिकाको कार्यालय र पूर्वतर्फ ३०० मिटरसम्म ६ लेन सडक निर्माण, ड्रेन निर्माणतर्फ ९नगरपालिकाको कार्यालय उत्तर एनएमसी डेरीदेखि पूर्व पालिया खोलासम्म,
धुलाबारी मोड पूर्व निन्दा खोलासम्म र पश्चिम टिमाई खोलासम्म र टिकापुर पश्चिम नगरडुब्बा खोलासम्म० रहेका छन् ।
यस्तै, कालीखोला पूर्व १,२, ३ कल्भर्ट मध्ये २ वटा कल्भर्ट निर्माण नगरिदिन, काँकरभिट्टा इलाका प्रहरी कार्यालय पश्चिम मेची भन्सार कार्यालय उत्तर रोड छेउमा घण्टाघर निर्माणका लागि अनुमति पाउन र काँकरभिट्टा स्थित निर्माण सम्पन्न भई सकेको राजमार्गको कुनै उपयुक्त स्थानमा गोपाल योञ्जनको शालिक स्थापनाको अनुमति पाउन माग गरिएको छ ।

मन्त्री दाहालले केहि मागहरु सम्बोधन गरिने र योजना परेका विषयहरुलाई प्राथमिकतामा राखेर मन्त्रालयले कामअघि बढाउने बताएका छन् । मन्त्रीहरुसँगै आएका सडक विभागका निर्देशक, विभागिय प्रमुखहरु र सचिवसँग छलफल गरिने उनको भनाई थियो ।
छोटो भेटघाटमा नगरप्रमुख बुढाथोकी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले धारणा राखेका थिए ।