चारआली । विद्यालयको प्रत्येक कक्षा कोठाभित्रै पानीको व्यवस्था गरिदिएपछि विद्यार्थीमात्रै होइन विद्यालयका शिक्षक र व्यवस्थापन समिति पनि खुसीले दंग छन् । सधैं पिउने पानीको अभाव खड्किने समस्या झेल्दै आएको विद्यालय व्यवस्थापन समिति यतिवेला समस्याबाट मुक्त भएको छ । विद्यालयभित्रका सबै पक्षलाई खुसी पार्ने र समस्याबाट मुक्त गर्ने काम चारआली शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरिदिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर झापाको चारआली शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विद्यालयमा शुद्ध पिउने पानी वितरण अभियान सुरु गरेपछि त्यहाँका १० वटा सामुदायिक विद्यालय पिउने पानीको समस्याबाट मुक्त भएका छन् । 
समितिले केही दिनयता त्यहाँ सामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा एउटा जार, एउटा डिस्पेन्सर, एउटा वाटा र ग्लासको व्यवस्था गरिदिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शुद्ध पिउने पानी पिउन पाउनले अधिकारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले विद्यालयको कोठामै पिउने पानीको व्यवस्था गरिदिएको समितिका अध्यक्ष राजन चिमरियाको भनाई छ । संस्थाले यसअघि पनि विद्यालयमा पिउने पानीको निशुल्क धारा जडान गरिदिएको थियो । तर, ससाना विद्यार्थीले उक्त धाराबाट पानी पिउँदा समस्या हुने देखिएपछि कक्षाकोठामै जारसेटको व्यवस्था गरेका गरिदिएको अध्यक्ष चिमरियाको भनाई छ । 
उनका अनुसार समुदायका सबै सर्वसाधारणले शुद्ध पिउने पानीबाट बञ्चित हुननपाउन् भन्ने उद्देश्यले पानीको पाइप विस्तार गरिरहेका छ । हालसम्म १३ किलोमिटर खानेपानीको पाइपलाइनको विस्तार गरिसकेको उनको भनाई छ । चारआली शहरी खानेपाली तथा सरसफाई उपभोक्ता समितिले मेचीनगर—१२ का सरस्वती बाल कल्याण माविलाई २५ थान जार सेट, कालीका आधारभूत विद्यालयलाई नौ थान जार सेट, माधव विध्याश्रम शहरेडाँगीमा ७ जार सेट निःशुल्क वितरण गरेको छ ।
त्यसैगरी मेचीनगर—१३ को शहिद दशरथ माविमा २२ थान जार सेट, मेचीनगर—११ को बलभद्र जनता माविमा १६ थान जारसेट, मेचीनगर—१४ को बाल सुबोधोनी माविमा १६ थान जारसेट, शान्ति प्राविमा नौ थान जारसेट, कृष्ण प्राविमा ८ थान जारसेट वितरण गरिसकेको र भानु र अम्बर प्राविमा दशैंपछि वितरण गरिने समितिका सचिव प्रेम घिमिरेले जानकारी दिए ।
उनका अनुसार गत वर्षमै निर्णय गरेको एक लाख बजेट अन्तरगत १ सय ५० थान जारसेट वितरण गरेको हो । उक्त बजेछ भन्दा ५ हजार बढी खर्च भएको छ । आगामी दिनमा स्थानीय चोक बजारको सार्वजनिक स्थलमा निःशुल्क खानेपानीको धारा जडान गर्ने कार्यक्रम रहेको अध्यक्ष चिमरियाको भनाई छ । जस अन्तरगत पैदल यात्रुदेखि सार्वसाधारणलाई लक्षित गर्दै सार्वजनिक स्थलमा धारा जडान गर्ने योजना तय गरिएको अध्यक्ष चिमरियाको भनाई छ ।




















































