मेचीनगर । प्रेस क्लब मेचीनगरले आगामी पुस २७ र २८ गते झापाको काँकरभिट्टा खेल मैदानमा आयोजना गर्ने `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´ को तयारी पुरा भएको जनाएको छ । नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२’ का लागि सम्पुर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा खेलाडीको व्यवस्थापनको तयारी पूरा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । खेलको प्राविधिक व्यवस्थापन झापा जिल्ला खेलकुद संघले लिएको जनाएको छ भने खेल मैदान सरसफाई एवम् व्यवस्थापन, पण्डाल निर्माण तथा मञ्च व्यवस्थापन पूरा भएको जानकारी दिइएको थियो ।

मेचीनगरका सामाजिक शाखाका संयोजक हृदय राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रायोजक संस्था इष्ट होराइजन माविका प्रिन्सिपल सन्जीव राई, झापा जिल्ला खेलकुद संघका महासचिव सुन्दर बस्नेत, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आर्चाय, भारतीय प्रेससम्बद्ध संस्था टीम मिडियाका मेनेजर प्रशान्त आचार्य लगायतले प्रेस क्लब मेचीनगरले आयोजना गरेको ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२’ को सफलताको कामना गरेका थिए । उनीहरुले नेपाल- भारत सीमा क्षेत्रबाट हुने गरेका अपराधिक तथा लागूऔषध ओसारपसारका घटनालाई निरुत्साहित गर्न समेत सञ्चार क्षेत्रको महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा नेपालका तर्फबाट मेचीनगर, भद्रपुर, बुद्धशान्ति, कनकाई, अर्जुनधारा र दमकको प्रेस क्लव प्रतियोगितामा भिड्ने छन् भने भारतको दार्जीलिङको तराई प्रेस क्लव र टिम इन्डियाले प्रतिष्पर्धा हुने संस्थाका उपाध्यक्ष खगेन्द्र घिमिरेले जानकारी दिए ।

आठ लाख २० हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ । पुस २७ गते आइतबार प्रदेश सभाषद् गोपाल तामाडले खेलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । अर्कोदिन पुस २८ गते सेमी फाइनल र फाइनल खेलको तयारी गरिएको छ । मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाण पत्रसहित पुरस्कृत गरिने प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत तथा सचिव प्रविण अधिकारीले सञ्चालन गरेका थिए ।