झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै झापाका सात जना नेताहरूलाई कार्वाही गरेको छ । 

झापाको बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर-२ का सदस्य राजेन्द्र खनाल, भद्रपुर नगर सभापति प्रेम न्यौपाने, जिल्ला सह–सचिव भीम कुँवर, क्षेत्र नम्बर-३ का सभापति लक्ष्मण बस्नेत तथा क्षेत्र नम्बर-४ की सभापति लीलामाया बस्नेत रहेका छन् । उनीहरुलाई पार्टीले निलम्बन गरेको छ ।

पार्टीको अनुशासन आयोगको केन्द्रीय टोलीले उनीहरूलाई यसअघि स्पष्टीकरण सोधेको थियो । सो टोलीका प्रमुख रमाकान्त रिजालसहितको समूह निर्वाचनअघि झापा आएको थियो ।अनुशासन आयोगको प्रारम्भिक छानबिनका क्रममा उनीहरूले पार्टी अनुशासन विपरीत गतिविधि गरेको निष्कर्षसहित कारबाही स्वरूप निलम्बन गरिएको जिल्ला तहका एक नेताले बताएका छन् ।  हाललाई निलम्बन मात्र गरिएको र आवश्यक परे थप कारबाहीसमेत हुन सक्ने जनाइएको छ ।

यस अघि पार्टीका जिल्ला सभापति उमेश खरेल निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेसँगै पार्टीका उपसभापति प्रकाश पाठकलाई कार्यवाहक सभापति बनाइएको थियो । पाठक गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर-३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजीत गर्दै  निर्वाचित भएका छन् ।