काठमाडौं । नेकपा ९एमाले०को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओलीविरुद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलोपटक हो। बैठकमा भनाइ राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका थिए भने अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। एमालेको विधानमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ।
बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एकढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभनसमेत भएको थियो। अध्यक्ष ओलीले अनुशासन उल्लंघन गर्ने र अराजक बन्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि उपाध्यक्षहरू थप आक्रोशित बनेका थिए। ‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारी रु,’ अध्यक्ष ओलीको भनाइ थियो, ‘नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै अब जिम्मेवारी पाइन्छ, यस्तो बेलामा पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ, गरिन्छ।’
बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो रु ’ भन्दै प्रश्न गरेका थिए। अध्यक्ष ओलीले पार्टीको लाइनविपरीत जानेहरूलाई कार्यविभाजनमा जिम्मेवारी नदिने संकेत गरेपछि नेता गुरुङ प्रतिवादमा उत्रिएका हुन्। ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो र रु एमाले तपाईंको प्राइभेट कम्पनी हो रु यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन,’ उनको भनाइ थियो, ‘अरू साथीहरूको योगदान छैन रु ’
७० वर्षे उमेर हद हटाउनु रणनीतिक भुल
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद तथा दुई कार्यकालको व्यवस्था हटाउनु गल्ती भएको टिप्पणी गरे। उनले विगतमा गरिएको उक्त गल्तीलाई सच्याएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे।
पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पौडेलले पुराना एजेन्डालाई पुनर्जीवित गर्नुपर्ने बताए। पहिलो विधान महाधिवेशन र १० औं राष्ट्रिय महाधिवेशनले अघि सारेको ७० वर्षे उमेर हद तथा दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउनु ‘रणनीतिक भुल’ भएको उनको तर्क थियो। यो विषयलाई पुनः पार्टी आन्दोलनको कार्यसूची बनाउनुपर्ने माग गर्दै उनले अध्यक्ष ओलीलाई भने, ‘तपाईंबाट अब पार्टी चल्दैन।’ उनले पार्टी संगठनको पुनर्संरचना, नेतृत्वको पुस्तान्तरण र निर्णय प्रक्रियालाई संस्थागत बनाउनुपर्ने लिखित प्रस्तावसमेत अघि सारेका छन्।
ओलीको बचाउमा बादल
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने अन्य उपाध्यक्षहरूको भनाइको प्रतिवाद गरे। पार्टी अहिले संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यो समयमा नेतृत्वको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा उनले राखे। अध्यक्ष ओलीले उपाध्यक्ष बादलको भनाइलाई नै पार्टीको आधिकारिक लाइन भएको दाबी गरे। बादलले नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखे लगत्तै ओलीले ‘यही हो पार्टी लाइन’ भन्दै अन्य नेताहरूलाई सचेत गराएका थिए। पार्टीको निर्णय र लाइनविपरीत जाने छुट कसैलाई नभएको भन्दै ओलीले असन्तुष्ट पक्षको मतलाई ‘अराजकता’ को संज्ञा दिए।
६ घण्टा चल्यो बैठक
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार शुक्रबारको बैठक करिब ६ घण्टा चलेको थियो। बैठक मुख्यतः निर्वाचन समीक्षा र कार्यविभाजनमा केन्द्रित रहेको उनले जानकारी दिए। ‘पाँचै जना उपाध्यक्षले खुलेर आफ्ना दृष्टिकोण राख्नुभएको छ। बैठक शनिबार पनि बस्नेछ, जहाँ अझै १२ जना नेताहरूले बोल्न बाँकी छ,’ भट्टले भने।
एमालेले कार्यविभाजन टुंग्याउने उद्देश्यका साथ सचिवालय बैठक बोलाएको भए पनि पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस सुरु भएपछि बैठक लम्बिएको छ। विद्यादेवी भण्डारीलाई सदस्यता दिइने एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने तयारी गरेको छ। २०८२ फागुन २१ को निर्वाचन परिणामपछि एमाले कार्यकर्तामा चरम निराशा छाएको र नेतृत्वप्रति असन्तुष्टि चुलिँदै गएको बैठकमा विश्लेषण गरिएको छ।
२०८२ भदौ २३ र २४ को घटना नेतृत्वको बचाउ गर्दै आएका नेता–कार्यकर्तासमेत पछिल्लो समय पार्टीलाई नयाँ दिशाबाट अघि बढाउनुपर्ने पक्षमा उभिन थालेका छन्।
अन्नपुर्ण पोष्टबाट




















































