झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले आइतबार उनीहरूलाई आ–आफ्नो घरबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको थियो।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना सजाय तोकिएका झापा गाउँपालिका–४ निवासी ४७ वर्षीय अब्दुल हकिम मियाँ र लागूऔषध मुद्दामा तीन महिना कैद तथा २०० रुपैयाँ जरिवाना सजाय तोकिएका मेचीनगर–३ निवासी २६ वर्षीय अनिल दनुवार अदालतले तोकेको जरिवाना रकम बुझाएर रिहा भएका छन्।

यस्तै, लागूऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएका कमल गाउँपालिका–५ निवासी २३ वर्षीय मनिष मगरलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाम जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ निवासी ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको छ।

यसैबीच, इलाम जिल्ला अदालतबाट लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका कन्काई नगरपालिका–४ निवासी २९ वर्षीय नबिन रसाइली पनि पक्राउ परेका छन्। अदालतले तोकेको जरिवाना तथा कानुनी प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ ।