मेचीनगर । झापा मेचीनगर नगरपालिकाले नगरभित्रका सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय परिसर तथा वरपर धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री–वितरणमा कडाइ गरेको छ ।
विद्यालय क्षेत्र बालबालिकाको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले विद्यालय परिसरबाट कम्तीमा १०० मिटरको दूरीभित्र धूमपान, मद्यपान तथा सूर्तिजन्य पदार्थको बिक्री–वितरण नगर्न नगराउन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा नगर शिक्षा अधिकारी होमनाथ भण्डारीद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।
नगरपालिकाले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्था स्मरण गराउँदै सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सूर्तिजन्य पदार्थ बिक्री गर्न वा उनीहरूबाट बिक्री गराउन नपाइने जनाएको छ । अनुगमनका क्रममा विद्यालय हाताभित्र वा विद्यालय वरपर कानुनविपरीत यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।
१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सूर्तिजन्य पदार्थ बिक्री गरेमा वा उनीहरूबाट बिक्री गराएमा सम्बन्धित व्यक्ति वा व्यवसायीलाई दश हजारदेखि एकलाखसम्म जरिवाना कार्वाही हुन सक्ने कानुनी ब्यवस्थापन रहेको छ ।
विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, सार्वजनिक यातायात लगायत तोकिएका सार्वजनिक स्थानमा धूमपान वा सुर्ती सेवन गरेमा रु. १०० जरिवाना गर्ने व्यवस्था छ।
कानुन उल्लङ्घन गर्दै विद्यालय क्षेत्र वरपर सूर्तिजन्य पदार्थको बिक्री–वितरण वा प्रचारप्रसार गरेको पाइएमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जरिवाना, सामग्री जफत, व्यवसायमाथि कानुनी कारबाही लगायतका कदम चाल्न सकिने व्यवस्था रहेको शिक्षा अधिकारी भण्डारीको भनाई छ ।
नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय व्यवसायीलाई कानुनको पूर्ण पालना गर्न र विद्यालयलाई धूमपान तथा सूर्तिजन्य पदार्थमुक्त क्षेत्र बनाउन सहयोग गर्न आग्रह गरेको छ।























































