झापा । झापाको शिवसताक्षी ८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा लाखौको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् । 
खिलमान राईसहितका करिव आधा दर्जन बचतकर्ताहरुले आफ्‌नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि केही दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित अन्य संचालकहरु पनि मुछिएको जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिकाले यस सहकारीका विषयमा छानबिन गरी प्रतिवेदनसहित सिफारिस पठाएपछि प्रहरीले कार्वाही अघि बढाएको हो ।
यसैबीच प्रहरीले साइनो बचत तथा ऋण सहकारी संस्थाका अन्य बचतकर्ताहरुलाई पनि निवेदन दिन आव्हान गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईले एक सार्वजनिक सूचना जारी गरी साइनो बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएको भए यस सहकारीमा विगतदेखि हालसम्म आवद्ध रहेका शेयर धनी तथा वचतकर्ताले सात दिनभित्र वचतकर्ताहरुले प्रयोग गरेको पास बुक, नागरिकताको फोटोकपि छायाकपी, एफडी कार्ड लगायतका कागजातहरु लिई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।