काठमाडौं । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दिउँसो पौने २ बजेतिर राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुकाे सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनुभएकाे हाे ।

‘राइड शेयरिङ’ को काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले ‘व्हील लक’ लगाइदिएपछि विवादसमेत भएको पाइएको छ । पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डौ जिल्ला प्रहरी परिसरले जनाएको छ । शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ ।