मोरङ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौँतामा हस्ताक्षर भएको हो । सम्झौँतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ । सम्झौँतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् । बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो ।सम्झौँतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गरिने जनाइएको छ ।सहमतिका मुख्य बुँदा १. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ । साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । 

२. २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइनेछ । ३. देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ । ४. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ ।५. घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ । ६. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिनेछ । ७‍. साउन १५ गते दिउँसो २ बजे मृतकको अन्त्येष्टि गरिने सम्झौता पत्रमा उल्लेख छ ।