झापा । सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाको मेचीनगरबाट भन्सार नभएको १८ लाख ७४ हजार ९१० रुपैयाँको अबैध सामान नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा स्थानीय कोपिला तामाङको घरमा खानतलासी मंगलबार अपरान्हमा मेचीनगर-७ स्थित सुन्दर टोलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर काँकडभिट्टाबाट १३ जना र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट ११ जनाको संयुक्त टोलीले थियो ।

त्यसक्रममा तामाङको घरभित्र भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई भण्डारण गरिएको लत्ताकपडा, कस्मेटिक र हार्डवेयरका सामानहरु बरामद भएको थियो । मेची भन्सार कार्यालय काँकडभिट्टामा दाखिला गर्दा सामानको भन्सार मूल्य १८ लाख ७४ हजार ९१० रुपैयाँ कायम भएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेड क्वाटर झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् । साथै निमित्त गणपति डीएसपी रसाईलीले अवैध चोरी निकासी पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता निरन्तर जारी रहेको समेत बताए ।