मेचीनगर । झापाको मेचीनगर–७ सुन्दर टोलमा भारतबाट भन्सार छलेर घरमा भण्डारण गरिएको अवस्थामा बरामद गरिएको एउटै सामान मूल्य विवरण फरक पाइएको छ । केही समयअघि सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सोही घटनामा बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा दाखिला गर्दा भन्सार मूल्य रु. १८ लाख ७४ हजार ९१० कायम भएको जनाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा बरामद सामानको अन्दाजी मूल्य रु २४ लाख ९९ हजार ८९० रहेको उल्लेख गरेको छ। जसमा ६ लाख २४ हजार ९८० रुपैयाँको अन्तर देखिएको छ ।
एकै सामान, दुई मूल्य किन ?
जिल्ला प्रहरी कार्यालय झापाको प्रेस विज्ञप्तिअनुसार मेचीनगर–७ फोहोरमैला क्षेत्रमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाको संयुक्त टोलीले कोपिला तामाङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याई भण्डारण गरिएको अवस्थामा २० बोरा र १० कार्टुन सामान बरामद गरिएको थियो।
प्रहरीले बरामद गरेको सामान कस्को हो ?
प्रहरीले अबैध सामान बरामद गर्दा घरवेटीको नाम सार्वजनिक गरेको छ । घरवलाको नाम सार्वजनिक गर्ने प्रहरीले तस्कर ब्यापारीको नाम किन सार्वजनिक गर्दैन भन्ने जनचासोको बिषय बनेको छ ।
घटनामा स्थानीय कोपिला तामाङको घरबाट सामान बरामद भए पनि सामानको वास्तविक मालिक, लगानीकर्ता र भारतबाट नेपाल भित्र्याउने व्यक्ति वा समूहको नाम सार्वजनिक नगरी प्रहरीले गोप्य राख्ने गरेको छ । कस्को रहेछ सामान भन्ने प्रश्न गर्दा उक्त बिषयमा अनुसन्धानका भइरहेको छ भन्ने जवाफ दिइदै आएको छ ।
यता व्यवसायी स्रोतले उक्त सामान सीमा क्षेत्रमा सक्रिय भनिएका अन्जु, हरि र पिन्टु शाहसँग सम्बन्धित रहेको दाबी गरेको छ । अबैध सामान नियन्त्रणमा लिइँदा घरवलाको नाम सार्वजनिक गर्नसक्ने प्रहरीले सामान बरामद गर्दा ब्यापारीको नाम किन सार्वजनिक नगरेको हो भन्ने कौतुहल र चासोको बिषय बनेको छ ।
बरामद सामानको गणना गर्दा कपडाका विभिन्न आइटम, मोटर पार्ट्स, इलेक्ट्रोनिक्सलगायत सामान गरी रु. २४ लाख ९९ हजार ८९० बराबरको अन्दाजी मूल्य कायम गरी आवश्यक अनुसन्धानका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
तर त्यसपछि भन्सारमा दाखिला भएको सामानको मूल्य १८ लाख ७४ हजार ९१० रुपैयाँ कायम भएको सशस्त्र प्रहरीको विवरणमा उल्लेख छ।
तस्करीको जालो पुलदेखि ब्यापारीसम्म:
सीमावर्ती मेचीनगरमा भारतबाट भन्सार छली सामान ल्याउने क्रम लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ। घरमा ठूलो परिमाणको सामान भेटिनु सीमाबाट सामान कसरी प्रवेश गर्यो भन्ने प्रश्नसँग पनि जोडिन्छ।
स्थानीय स्रोतका अनुसार मेची पुल आसपासबाट साँझपख सामान नेपालतर्फ ल्याउने, सफारी तथा रिक्सा प्रयोग गरी विभिन्न स्थानमा पुर्याउने गतिविधि हुने गरेको दाबी छ । त्यसमा कतिपय सिभिल पोशाकका सुरक्षाकर्मीले रकम असुलेर सामान कटाउने गरेको आरोपसमेत स्थानीय स्रोतले लगाएको छ।























































