झापा । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा फरार रहेका झापा हल्दिबारी गाउँपालिका–१ का नितेश ओली (नवराज) लाई पक्राउ गर्न झापाका पत्रकारसम्बद्ध संघ–संगठनहरूले माग गरेका छन्।
नेपाल पत्रकार महासंघ झापा शाखासहित जिल्लामा क्रियाशील पत्रकारसम्बद्ध संघ–संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार तथा सञ्चारकर्मीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, भ्रामक सामग्री सम्प्रेषण गर्ने तथा ज्यान लिनेसम्मको धम्की दिने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल पत्रकार महासंघ झापा शाखाका अनुसार संस्थाका पदाधिकारी तथा सक्रिय पत्रकारलाई लक्षित गर्दै केही समययता फेसबुक र मेसेन्जरमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण भइरहेको छ। यस्तै, पत्रकारलाई ज्यान लिने धम्कीसम्म दिइएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ।
पत्रकारिताको पेशामा नरहेका ओलीले पत्रकारिताको आवरणमा आफूलाई दिइएको हिरासतसम्बन्धी विषयमा सम्बन्धित निकायमा उजुरी परेपछि आफूलाई सचेत गराइएको अवस्थामा त्यसपछि पत्रकारविरुद्ध तथ्यहीन, भ्रामक तथा कपोलकल्पित सामग्री सामाजिक सञ्जालमा राख्दै मानमर्दन गर्दै आएको पत्रकार संगठनहरूको आरोप छ।
यस विषयमा साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता गरिएको र जिल्ला अदालतबाट २०८३ असार १५ गते ओलीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको भए पनि हालसम्म उनी पक्राउ नपरेको विज्ञप्तिमा जनाइएको छ।
सामाजिक सञ्जालको माध्यमबाट पत्रकारितामा सक्रिय पत्रकारहरूलाई ज्यान लिने धम्की दिइनुले पत्रकारहरूको सुरक्षामाथि गम्भीर चुनौती थपिएको पत्रकार संगठनहरूको निष्कर्ष छ। यस विषयमा पत्रकार महासंघ झापाले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत आरोपित पक्राउ नपर्नुले प्रहरीको कार्यशैली र क्षमतामाथि गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, प्रहरीले फरार अभियुक्त ओलीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसक्नुले प्रहरी प्रशासनको भूमिकाप्रति नै गम्भीर शंका उत्पन्न भएको पत्रकार संगठनहरूले बताएका छन्।
संयुक्त विज्ञप्तिमार्फत झापामा क्रियाशील पत्रकारसम्बद्ध संघ–संगठनहरूले आरोपित ओलीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा आपत्तिजनक गतिविधि रोक्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल प्रेस युनियन झापा, प्रेस चौतारी नेपाल झापा, प्रेस सेन्टर नेपाल झापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा, नारी सञ्चार गृह झापा, खेलकुद पत्रकार संघ झापा, फोटो पत्रकार संघ झापा, नेपाल चलचित्र पत्रकार संघ झापा, पर्यटन पत्रकार संघ झापा, स्वतन्त्र पत्रकार संघ झापा र राष्ट्रिय फोटो पत्रकार समूहका झापा प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।























































