झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष एबम् सांसद हर्क साम्पाङले 'भ्रष्टाचार गर्दिनँ' भनेर लिखित प्रतिबद्धता जनाउने व्यक्तिलाई मात्रै पार्टीबाट चुनावको टिकट दिइने घोषणा गरेका छन् । झापाको अर्जुनधारामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले उम्मेद्वार छनोट हुनुअघि नै भ्रष्टाचार नगर्ने सर्तमा कागज गराउने स्पष्ट पारेका थिए ।
सम्बोधनका क्रममा उनले भने, “जसले म भ्रष्टाचार गर्दिनँ भनेर कागजमा सहीछाप गरेर मलाई दिन्छ, उसले मात्रै टिकट पाउँछ।”
अध्यक्ष साम्पाङले यदि कुनै नेता वा कार्यकर्ताले भ्रष्टाचार गरेको प्रमाणित भएमा पार्टीले नै पहिलो चरणमा कारबाही गर्ने र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने चेतावनी दिए।
साथै, भ्रष्टाचार गर्नेलाई सार्वजनिक रूपमै चोकमा लगेर जुत्ताको माला लगाउने र मोसो दलेर कारबाही गरिने उनको भनाइ थियो । देशमा राजनीतिक दलका नेता-कार्यकर्तामा भ्रष्ट प्रवृत्ति मौलाउँदै गएकाले आफ्नो पार्टीले यो कडा कदम चाल्न लागेको उनले दाबी गरे ।























































