काठमाडौं । सरकारले प्रतिनिधिसभामा तीनवटा विषयगत विधेयकहरू पेस गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रीहरूले आ-आफ्ना मन्त्रालयसँग जोडिएका विधेयकहरू प्रस्तुत गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गरिन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संशोधन विधेयकमार्फत विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्यासम्बन्धी व्यवस्थालाई सरलीकृत गरी प्रक्रियालाई थप सहज बनाइने बताइन् । उनले मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्दै ’प्रदेश मेलमिलाप समन्वय समिति’ र ’जिल्ला मेलमिलाप समन्वय समिति’ गठन गरिने जानकारी दिइन् ।
यस्तै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका छन् ।























































