बिर्तामोड । नेपाल महिला संघ झापाले संघको ७९ औँ स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेस झापाको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संघकी संस्थापक मंगलादेवी सिंहको तस्वीरमा माल्यार्पण गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष टीका सिटौला मैनालीले महिला संघ स्थापनाको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरिन् । उनका अनुसार २००४ सालमा तत्कालीन राजनीतिक तथा सामाजिक परिस्थितिबीच मंगलादेवी सिंहको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय समिति गठन गरी महिला संघ स्थापना गरिएको थियो ।
त्यतिबेला महिलाको शिक्षा, मतदानको अधिकार, मानव अधिकार तथा लैङ्गिक समानताका विषयलाई प्राथमिकताका साथ उठाइएको मैनालीले बताइन् ।
जहानियाँ राणा शासनका कारण राजनीतिक गतिविधि प्रतिबन्धित रहेको अवस्थामा स्थापना भएको महिला संघले नेपाली कांग्रेससँगै प्रजातन्त्र स्थापना र लोकतान्त्रिक विधि तथा पद्धतिका लागि विभिन्न आन्दोलनमा सहभागिता जनाएको उनले उल्लेख गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्य रहेको थियो। महासमिति सदस्य भूमादेवी घिमिरे तथा कांग्रेस जिल्ला सदस्य देविका निरौला बस्नेत, लीला मैनाली, गीता ओडारी खरेल र सेलेतुन खातुनलगायत महिला संघका पदाधिकारी तथा सदस्य सहभागी थिए । कार्यक्रमको सहजीकरण इन्दु पूर्वेलीले गरेकी थिइन्।























































