काठमाडौं । इजरायलको साधारण कृषि र घरायसी केयरगिभरको क्षेत्रमा जाने नेपालीले १५ सयदेखि २ हजार अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढेको छ ।इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयरगिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले इजरायलले माग गर्ने भनेको लर्न एण्ड अर्न बाहेकको कृषि र घरायसी केयरगिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी दिए । ‘श्रमिक इजरायल पुग्नेबित्तिकै रकम जम्मा गर्न सहज नहुने व्यवहारिक कठिनाइ हुन्छ,’ उनले कारोबारसँग भने, ‘रकम तिर्न नपर्ने वा कम तिर्ने विषयमा नेपालको प्रस्ताव रहेको छ ।’
यस विषयमा श्रममन्त्रीले समेत चासो देखाएका कारण सहमति भएपछि पैसा जम्मा गरेर भए पनि नेपाली युवाले इजरायलमा थप नयाँ क्षेत्रमा जिटुजी मार्पmत रोजगारीको अवसर पाउने देखिएको छ । रकमका सम्बन्धमा इजरायल पक्ष सहमत नभए पनि कोटा गुमाउने पक्षमा भने नेपाल नरहेको बुझिएको छ । नेपालले इजरायलले राखेको प्रस्तावित रकम तिर्न सहमति दिए यो कोटा तत्काल खुल्ने देखिएको छ ।
इजरायलले पठाएको साधारण कृषि कामदार र घरायसी केयरगिभरले १५ सयदेखि २ हजार डलर फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने उल्लेख सहितको प्रस्ताव रहेको छ । नेपाल सरकारले भने सो धरौटी बापतको रकम नेपाली युवाका लागि शुरुमा नै भार हुन सक्ने जनाउँदै भरसक नलिन तथा लिए पनि कम लिन प्रस्ताव गरेको छ । हाल सोही विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
केही समयअघि नेपालीस्थित इजरायली राजदूतले नेपाली पक्ष इजरायलले राखेको प्रस्तावप्रति संवेदनशिल नभएका कारण नेपाली युवा इजरायल जान नपाएको बताएका थिए । हाल छलफलका क्रममा रहेको कृषि र घरायसी केयरभिगरमा कति र कहिले नेपाली माग गर्ने भन्ने सम्बन्धमा केही जानकारी दिइएको छैन । कति संख्यामा यस्ता कामदार लैजाने नीति बनेपछि मात्र यकिन हुनेछ । नेपालीहरु २०६७ सालदेखि इजरायलमा संस्थागत रुपमा कृषि तथा केयरगिभरमा जान थालेका हुन् । हाल इजरायलमा नेपाली श्रमिकहरू जीटुजी, व्यक्तिगत तथा संस्थागत रुपमा जाने गरेका छन् । हाल ७ हजारको हाराहारीमा नेपाली श्रमिक इजरायलमा कार्यरत छन् । पछिल्लो समय लगभग २ हजारभन्दा बढी नेपाली केयरगिभरको रूपमा इजरायल पुगिसकेका छन् । केही दिनदेखि ४९९ जना नेपाली इजरायल जानका लागि स्वास्थ्य परीक्षण गरिरहेका छन् ।























































