काँकरभिट्टा । फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पहिलो पटक विद्यालयस्तरीय फुटबल लिग प्रतियोगिता आयोजना गर्ने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी साउन २९ गते शुक्रबारदेखि ‘काँकरभिट्टा इन्टर स्कुल लिग–कम नकआउट फुटबल टुर्नामेन्ट’ सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

प्रतियोगितामा मेचीनगर नगरपालिका वडा नम्बर-६ सञ्चालनमा रहेका ८ वटा बोर्डिङ विद्यालय र मेचीनगर-७  एउटा निजी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीलाई

प्रतियोगितामा सहभागी गराइने भएको हो ।

प्रतियोगितामा नौ विद्यालयका विद्यार्थीलाई दुई समूह—‘ए’ र ‘बी’ मा विभाजन गरी प्रतियोगिता गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार समूह ‘ए’ मा पाँच टोली र समूह ‘बी’ मा चार टोली रहेका छन् । समूह ‘ए’ मा नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल, सूर्यदय इङ्लिस बोर्डिङ स्कुल, पशुपति इङ्लिस बोर्डिङ स्कुल, झापा नेसनल इङ्लिस बोर्डिङ स्कुल र अरुणदय इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा तारापुन्ज इङ्लिस बोर्डिङ स्कुल, गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, श्री काँकरभिट्टा मा.वि. र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहबाटै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई नियमित प्रशिक्षण र प्रतिस्पर्धाको अवसर प्रदान रहेको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई फुटबलतर्फ आकर्षित गर्दै भविष्यका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

‘प्रतियोगितालाई केवल जित–हारमा सीमित नराखी विद्यालय तहबाटै फुटबल प्रतिभा पहिचान गर्ने माध्यमका रूपमा अघि बढाउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष ओलीले भने। प्रतियोगिताका खेलहरू काँकरभिट्टा खेल मैदानमा सञ्चालन हुनेछ । लिग चरणबाट उत्कृष्ट टोली छनोट गर्दै नकआउट चरणमा प्रवेश गराइने आयोजकले जनाएको छ। यसले सहभागी विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धासँगै नियमित खेल अभ्यास र आपसी सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। अन्य पुरस्कार तथा विधागत पुरस्कारबारे आयोजकले प्रतियोगिताका क्रममा जानकारी गराउने जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजन मेची नेत्रालयले गरेको छ भने प्रतियोगितामा स्थानीय विभिन्न संघ–संस्था तथा विद्यालयहरूको समेत सहकार्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, मीन बस्नेत, सल्लाहकार गंगालाल गुरु लगायतले प्रतियोगिता गर्नुको उद्देश्य स्पष्ट पारेका थिए ।

अशोक राईले स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन लाक्पा लामाले गरेका थिए । काँकरभिट्टा क्षेत्रमा विद्यालयस्तरबाटै फुटबल खेलको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगितालाई निरन्तरता दिने आयोजकको भनाइ थियो ।