मोरङ । मापदण्ड बिपरित विराटनगरमा सञ्चालनमा आएका ७ वटा आँखा अस्पताल सिल गरेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको संयुक्त अनुगमन टोलीले कानुनविपरीत सञ्चालनमा रहेका आँखा अस्पताल बन्द गरेको हो । अनुगमनका क्रममा आँखा उपचार सेवा प्रदान गर्दै आएका ती स्वास्थ्य संस्थाले प्रचलित कानुनी मापदण्ड तथा आवश्यक प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरी कानुनी कारबाही अघि बढाएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार अप्थ्याल्मोलोजी सेवा विशेषज्ञ सेवाअन्तर्गत पर्दछ, जसका लागि विशेषज्ञ अस्पताल सञ्चालन गर्न कम्तीमा १०० शय्या हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै, ५० देखि २०० शय्यासम्मका विशेषज्ञ अस्पताल सञ्चालनको इजाजत स्वास्थ्य सेवा विभागबाट लिनुपर्ने कानुनी प्रावधान रहेको छ । प्रदेश सरकारको व्यवस्थाअनुसार भने आँखा उपचार केन्द्रले प्रारम्भिक आँखा उपचारसहित नेत्र विशेषज्ञबाट दिइने भिजुअल एक्युटी, रिफ्र्याक्सन र माइनर ट्रिटमेन्टजस्ता सेवा मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।तर, मोरङमा सञ्चालित केही स्वास्थ्य संस्थाले उक्त कानुनी मापदण्ड र प्रक्रिया पालना नगरी सेवा सञ्चालन गरेको अनुगमनका क्रममा भेटिएपछि सिलबन्दी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
सिलबन्दी गरिएका संस्थामा विराटनगर-१४ को विराट आँखा अस्पताल प्रा.लि., विराटनगर-१५ को इफराह आँखा अस्पताल प्रा.लि., विराटनगर-१० को सञ्जिवनी आइ केयर प्रा.लि. र विराटनगर-१३ को हिमाल आँखा अस्पताल प्रा.लि. रहेका छन् ।
त्यसैगरी विराटनगर-९ को विराट रानी आँखा अस्पताल प्रा.लि., विराटनगर–१५ को अखण्ड ज्योती आँखा अस्पताल प्रा.लि. र विराटनगर-१३ को नेपाल आँखा अस्पताल प्रा.लि.मा समेत सिलबन्दी गरिएको प्रशासनले जनाएको छ।
स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा कानुन र मापदण्डविपरीत अस्पताल सञ्चालन भइरहेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा अनुगमन गरेको हो । प्रशासनले आगामी दिनमा पनि कानुनविपरीत सञ्चालनमा रहेका अन्य स्वास्थ्य संस्थामाथि अनुगमन गरी आवश्यक कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।























































