झापा । मानव सेवा आश्रम झापा शाखाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आय–व्यय सार्वजनिक गरेको छ । आश्रमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एक वर्षमा विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट प्राप्त सहयोग र सरकारी सहयोगसहित २ करोड ५१ लाख ७८ हजार २२ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

आश्रमका अनुसार उक्त आम्दानीमध्ये विभिन्न व्यक्ति, संघ–संस्था तथा शुभेच्छुकबाट २ करोड ६ लाख ३१ हजार ३ सय ५ रुपैयाँ र सरकारी निकायबाट ४५ लाख ४६ हजार ७ सय १७ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

आश्रम सञ्चालन, प्रशासन, कार्यक्रम, मर्मतसम्भार तथा अन्य शीर्षकमा गरी वर्षभरिमा १ करोड ७३ लाख ४० हजार ६ सय १६ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । आम्दानी र खर्चको हिसाबपछि आश्रमको ७८ लाख ३७ हजार ४ सय ६ रुपैयाँ बचत रहेको जनाइएको छ ।

बचत रकममध्ये ५१ लाख १ हजार ६ सय ५९ रुपैयाँ बराबरका अति आवश्यक सामग्री खरिद गरिएको र बाँकी २७ लाख ३५ हजार ७ सय ४७ रुपैयाँ बैंक नगद मौज्दात रहेको मानव सेवा आश्रम झापा शाखाका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए।

मानव सेवा आश्रम झापा शाखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आश्रमले सडक तथा सार्वजनिक स्थलमा कठिन जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पुनर्मिलन तथा पुनःस्थापनाको काम गर्दै आएको छ।

आश्रमको तथ्यांकअनुसार एक वर्षमा ९९ जना बेसहारा तथा सडक आश्रित मानवको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५७ जना पुरुष र ४२ जना महिला रहेका छन्। त्यस्तै ३६ जनाको पारिवारिक पुनर्मिलन, १२ जनाले स्वेच्छाले आश्रम छाडेको, दुई जनाको सामुदायिक पुनःस्थापना र पाँच जनाको पुनःउद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आश्रममा आश्रितमध्ये मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई नियमित औषधि सेवन गराउने गरिएको छ। प्रतिवेदनअनुसार ४२ जनाले नियमित मानसिक रोगसम्बन्धी औषधि सेवन गरिरहेका छन् भने दीर्घरोगी बिरामीका रूपमा ८ जना रहेका छन् । आश्रममै उपचार पाएर स्वास्थ्यलाभ गर्ने १५ जना र अस्पतालबाट उपचार गरिएका पाँच जना रहेको तथ्यांकमा उल्लेख छ ।

आश्रमले विशेष क्षमता भएका आश्रितहरूको विवरणसमेत सार्वजनिक गरेको छ। जसअनुसार शारीरिक रूपमा भिन्न क्षमता भएका तीन जना, पूर्ण अशक्त सात जना तथा भिन्न वाक् क्षमता भएका छ जना आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ ।

मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सडकमा जीवन बिताउन बाध्य मानवको उद्धार, संरक्षण र पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएको जनाएको छ। आश्रमका अनुसार देशभरका विभिन्न सेवा केन्द्रमार्फत हजारौँ सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूलाई सेवा प्रदान गरिएको छ ।

झापा शाखाले आगामी दिनमा पारिवारिक पुनर्मिलन हुन नसकेका व्यक्तिहरूको क्षमता विकास, सीपमूलक तालिम, आत्मनिर्भरता अभिवृद्धि, आश्रमको भौतिक पूर्वाधार विस्तार तथा परिवार पहिचान र पुनःस्थापनालाई प्राथमिकता दिने जनाएको छ । 

आश्रमले विद्यालय, कलेज, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य बढाउँदै मानवताको मूल्य, सहयोग र सहअस्तित्वको भावना प्रवर्द्धन गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ ।

मानव सेवा आश्रम जिल्ला समितिका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती पोख्रेल, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिना, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी लगायतले वार्षिक प्रतिवेदनमाथि समिक्षा मन्तब्य राखेका थिए । आफ्नो जन्मोत्सवका अवसरमा सुदय पनेरूले आश्रम स्थलमै पुगेर खाद्यान्न  प्रदान गरेका थिए । 

कार्यक्रममा स्वागत र प्रतिवेदन बाचन गंगा थापा र झापा शाखा संयोजक विश्वकर्माले सञ्चालन गरेका थिए ।