झापा । झापा शिवसताक्षीका एक व्यक्तिलाई अपहरण गरी १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
शिवसताक्षी नगरपालिका-१० माइधार घर भई हाल काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्दै आएका नवीन रायालाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरेको थियो। अपहरणपछि उनलाई कुटपिट गरी परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको थियो ।
घटनाबारे गोप्य सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो । टोलीले बुधबार साँझ ६ः३० बजे काठमाडौंको नागार्जुन नगरपालिका-५ छग्डोलबाट रायालाई सकुशल उद्धार गरेको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रामेछाप लिखु तामाकोशी-३ का ३२ वर्षीय मनोज बुढाथोकी, सर्लाही लालबन्दी-४ का २२ वर्षीय जेनिश चौधरी, चितवन राप्ती-२ का २४ वर्षीय अमित ओली, काभ्रेपलाञ्चोक भुम्लु-८ का २३ वर्षीय देवकुमार श्रेष्ठ, मकवानपुर बाग्मती–५ फापरबारीका २० वर्षीय निशान रुम्बा तामाङ, ओखलढुंगा लिखु-५ का २४ वर्षीय निमेश कार्की र अर्घाखाँची मालारानी-३ का २२ वर्षीय प्रदीप पोखरेललाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट बिहीबार ६ दिनको म्याद लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।























































