चारआली । लामो समयदेखि व्यवस्थित कार्यालय भवनको अभाव झेल्दै आएको झापाको मेचीनगर नगरपालिका–१३ ले अब आफ्नै सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा दिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट वडा कार्यालय भवन निर्माण सुरु गरेपछि वडावासीलाई सहज र प्रभावकारी सेवा प्रवाहको बाटो खुलेको हो ।
कार्यालय भवन तथा सभाहल निर्माणको सोमबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना उप्रेती पोख्रेलले विधिवत् शिलान्यास गरेका छन् । योजनाअनुसार भवनको पहिलो तलामा ६ वटा कोठासहित वडा कार्यालय रहनेछ भने दोस्रो तलामा सभाहल निर्माण गरिनेछ ।
भवन निर्माणका लागि मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ३६ लाख ३७ हजार ६ सय १३ रुपैयाँ ९३ पैसा बजेट विनियोजन गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार भवन अन्य वडा कार्यालयको तुलनामा आधुनिक तथा अत्याधुनिक मापदण्डअनुसार निर्माण गरिनेछ ।
नागरिकलाई प्रभावकारी र सहज सेवा प्रदान गर्ने उद्देश्यले उपयुक्त सरकारी जग्गा छनोट गरी सुविधासम्पन्न वडा कार्यालय तथा सभाहल निर्माण अघि बढाइएको उपप्रमुख मिना उप्रेती पोख्रेलले बताइन् ।
निर्माणको जिम्मेवारी पाथीभरा बिल्डर्स प्रालि, कनकाई–३ ले पाएको छ । सम्झौताअनुसार शिलान्यास भएको करिब अढाई महिनाभित्र भुइँ तलाका दुईवटा कोठा निर्माण गर्ने र फागुन ३० गतेसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नगरपालिकाका इन्जिनियर रोशन रिमालले जानकारी दिए ।
कहिले कृषि सामग्री केन्द्र, कहिले भाडाको घरमा:
वडा कार्यालयको आफ्नै भवन नहुँदा मेचीनगर–१३ का नागरिकले लामो समयदेखि विभिन्न स्थानबाट सेवा लिनुपर्ने बाध्यता थियो । यसअघि मेचीनगर–१३ र १४ लाई एकीकृत गरी मेचीनगर–१४ को वडा कार्यालयबाट सेवा सञ्चालन गरिएको थियो । तर, सेवाग्राहीको गुनासो बढेपछि मेचीनगर–१३ स्थित तेलीबारमा रहेको कृषि सामग्री केन्द्रको जीर्ण भवनबाट सेवा दिन थालिएको थियो ।
जीर्ण भवनबाट सेवा सञ्चालन गर्न जोखिम भएपछि वडा कार्यालयले चारआली चोकस्थित निर्जला भुर्तेलको घरको पहिलो तला भाडामा लिएर सेवा दिएको थियो । करिब दुई वर्ष नौ महिना भाडाको घरबाट सेवा सञ्चालन गरेपछि अहिले चारआलीको पुरानो बजारस्थित सामुदायिक हलबाट वडा कार्यालयको सेवा सञ्चालन हुँदै आएको छ । सोही सामुदायिक हलको परिसरमा रहेको सरकारी जग्गामा नयाँ वडा कार्यालय भवन निर्माण सुरु भएको हो।
१० हजारबढीलाई सहज सेवा:
वडा नम्बर १३ मा दुई हजारभन्दा बढी घरधुरी र १० हजारभन्दा बढी नागरिक रहेका छन्। उनीहरूलाई दैनिक रूपमा आवश्यक पर्ने प्रशासनिक तथा सिफारिसलगायतका सेवा व्यवस्थित रूपमा उपलब्ध गराउन नयाँ भवन महत्वपूर्ण हुने वडा अध्यक्ष कृष्णराज सिग्देलले बताए ।
चारआलीमा रहेको कुल १९ कठ्ठा १७ धुर सरकारी जग्गामध्ये करिब १० कठ्ठा क्षेत्रमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालय निर्माणका लागि यसअघि पनि प्रयास भएको थियो । २०७५ सालमा तत्कालीन नगरप्रमुख विमल आचार्यले वडा कार्यालय निर्माणका लागि बजेट विनियोजन गरे पनि आवश्यक सरकारी जग्गा उपलब्ध हुन नसकेपछि उक्त बजेट खर्च हुन नसकी फ्रिज भएको थियो ।
लामो समयपछि सरकारी जग्गाको व्यवस्थापन भएसँगै अहिले वडा कार्यालय निर्माणको काम अघि बढेको हो।
तीन वडाबाहेक सबै कार्यालयमा क्षति:
मेचीनगर नगरपालिकाका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा नगरपालिकाका तीनवटा वडाबाहेक अधिकांश वडा कार्यालयमा आगजनी तथा क्षति पुगेको थियो। क्षतिग्रस्त कार्यालयको मर्मतसम्भारपछि केही वडा कार्यालयबाट पुनः सेवा सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ।
मेचीनगर–१५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा सुरु भइसकेको छ । मेचीनगर–१३ मा नयाँ भवनको शिलान्यास गरिएको छ भने मेचीनगर–१२ को वडा कार्यालय भवन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।
लामो समयदेखि अस्थायी तथा भाडाका भवनबाट सेवा दिँदै आएको मेचीनगर–१३ को वडा कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै वडा कार्यालयको प्रशासनिक कामसमेत थप व्यवस्थित हुने सेवाग्राहीको भनाई छ ।























































