मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले नगरपालिकालाई सञ्चारमैत्री बनाउँदै सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रेस क्लब मेचीनगरले बुधबार आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नगरको समग्र विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले सञ्चारमैत्री नगरपालिका निर्माणलाई प्राथमिकतामा राख्ने बताएका हुन्।
श्रेष्ठले नगरपालिकाका काम, योजना, निर्णय तथा गतिविधिलाई प्रभावकारी रूपमा नागरिकसमक्ष पुर्याउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै कानुन र निर्धारित प्रक्रियाअनुसार सञ्चार क्षेत्रको विकासमा आवश्यक योजना अघि बढाउने बताए। आफू सञ्चारप्रेमी रहेको उल्लेख गर्दै उनले सञ्चारकर्मी तथा सञ्चार उद्यमीको हित, संरक्षण र प्रवर्द्धन हुने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाए।
उनले नगरपालिकाबाट हुने कामकारबाहीमा सञ्चार क्षेत्रसँग सहकार्य र समन्वय बढाउँदै नागरिकले सहज रूपमा सूचना प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले भने मेचीनगर नगरपालिका अझै पूर्ण रूपमा सञ्चारमैत्री बन्न नसकेको भन्दै विभिन्न विषयमा नगरपालिकाको ध्यानाकर्षण गराए। नगरको वार्षिक बजेटअनुसार अपेक्षाकृत विकास उपलब्धि हासिल हुन नसकेको, सञ्चारसम्बन्धी कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन नभएको र सञ्चारकर्मीले माग गरेका सूचनासमेत सहज रूपमा उपलब्ध गराउने अभ्यास विकास हुन नसकेको उनीहरूको गुनासो थियो।
त्यस्तै, कानुनी तथा प्रक्रियागत रूपमा सञ्चालनमा रहेका स्थानीय सञ्चारगृहलाई नगरपालिकाबाट पर्याप्त सहयोग र प्रोत्साहन हुन नसकेको, प्रेस क्लब मेचीनगरलाई समेत व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सहयोग नपुगेको सहभागीहरूले बताए। नगरपालिकाले सञ्चार क्षेत्रलाई केवल समाचार प्रकाशन–प्रसारण गर्ने माध्यमका रूपमा नभई सुशासन, पारदर्शिता र विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनीहरूको भनाइ थियो।
सञ्चारकर्मीहरूले नगरपालिकाबाट भएका महत्वपूर्ण निर्णय तथा गतिविधि तत्काल सार्वजनिक गर्नसमेत आग्रह गरे। नगरपालिकाका निर्णय नागरिकले समयमै थाहा पाउने गरी नगर प्रवक्तामार्फत नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव थियो।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्षहरू मुक्ति पौडेल र डम्बर बराल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, शिशिर चौलागाईंलगायत सञ्चारकर्मीले नगरपालिकाले सञ्चार क्षेत्रमा गर्नुपर्ने सुधार र सहकार्यका विषयमा धारणा राखेका थिए।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने प्रविण अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।






















































