भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय भएको छ । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ अनुसार आज भएको सर्बपक्षीय भेलाले भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । झापाको भद्रपुर नेपालकै चौथो नगरपालिका हो । भद्रपुर २००८ सालमै नगरपालिका बनेको थियो । त्यस ऐतिहासिकतालाई दृष्टिगत गरी हालको भद्रपुर नगरपालिकाको भूगोललाई कायम राख्दै सिमाना जोडिएका पालिकाका भूगोलहरुलाई आवश्यकता र सहमतिका आधारमा समावेश गरी उपमहानगरपालिका कायम गरिदिन आज नगरपालिकामा आयोजित सर्वपक्षीय भेलाले सिफारिस गर्ने निर्णय गरेको हो । भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता र सहजीकरणमा भएको भेलामा उपप्रमुख राधा कार्कीसहित सबै राजनैतिक दलका प्रतिनिधि, पूर्व नगरप्रमुखहरु, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, उद्योगी र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

भेलामा रास्वपाका प्रेम न्यौपाने , नेपाली कांग्रेसका रमेश झा, एमालेका असारु राजवंशी, श्रम संस्कृति पार्टीका नरदिप लिम्बू, राप्रपाका राजकुमार राई, पूर्व नगरप्रमुखहरु भारतेन्दु मल्लिक र पुष्पराज पोखरेल,वडाध्यक्षहरुमा वडा नं १ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नं ४ का अध्यक्ष हंशधर राजवंशी, ५ का अध्यक्ष बन्धु कार्की, ६ का रतिया राजवंशी, ७ का अध्यक्ष अभिषेक ढुंगाना, १० का अध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर-९ का समाजसेवी रुद्र निरौला, पत्रकार चिन्तामणि दाहाल लगायतले आ-आफ्ना धारणा राखेका थिए । सबैको सहमति अनुसार भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने, ७ नं वडाको एक भाग मेची नदी पारी परेको र सीमाना नजोडिएकोले त्यसलाई सीमाना जोडिने ५ नं वडामा समावेश गर्ने, भद्रपुर नगरपालिकाका वडा नं ९ र १० संघीय निर्वाचन क्षेत्रको १ नम्बरमा पारिएकोले ती दुबै वडालाई क्षेत्र नं. ३ मै कायम गर्नुपर्ने र सीमाना हेरफेर गर्नु पर्ने आवश्यकता देखिएका वडाहरुका क्षेत्रलाई स्थानीय जनता र वडाहरुको राय लिई एक अर्कामा मिलाउन सिफारिस गर्ने पनि निर्णय भएको नगरप्रमुख पोखरेलले बताए ।