गोरखा । लामो समयदेखि बन्द रहेको नेपालको एक मात्र टायर उत्पादन गर्ने सरकारी स्वामित्वको ‘गोरखकाली रबर उद्योग’ पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । यही असोज वा कार्तिक पहिलो साताबाटै काम सुरु गर्ने गरी सरकारले आन्तरिक तथा बाह्य तयारी अगाडि बढाइएको छ ।
उद्योगको वर्तमान अवस्था र पुनः सञ्चालनको सम्भाव्यता बुझ्न सांसद कविन्द्र बुर्लाकोटी, अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूको उच्चस्तरीय टोलीले गोरखाको मझुवास्थित उद्योगको स्थलगत निरीक्षण गरिसकेको छ। निरीक्षण टोलीले उद्योगको कानुनी, आर्थिक र प्राविधिक अवस्थाको विस्तृत विश्लेषण गरी छिट्टै व्यावसायिक प्रस्ताव (बिजनेस प्रपोजल) तयार पार्ने जनाएको छ ।
विज्ञहरूका अनुसार उद्योगका पुराना मेसिनहरू खिया परेर काम नलाग्ने अवस्थामा पुगेकाले पुराना भौतिक संरचनाको सदुपयोग गर्दै नयाँ अत्याधुनिक प्रविधि र मेसिनरी जडान गर्नुपर्ने देखिएको छ । सरकारले यस उद्योगलाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडल वा वैदेशिक रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने योजना बनाएको छ । कुनै समय स्वदेशी मागको ४० प्रतिशत हिस्सा धान्ने यो उद्योग व्यवस्थापकीय कमजोरीका कारण पूर्ण रूपमा बन्द छ । ६७० रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग पुनः सञ्चालनमा आए स्वदेशी कच्चा पदार्थको खपत हुने, टायरको आयात प्रतिस्थापन हुने र देशमा व्यापक रोजगारी सिर्जना हुने विश्वास लिइएको छ।






















































