झापा ।  बलात्कारपछी हत्या भएकी तीन वर्षकी गरिमाका बुवा मनोज चौधरीले नेपालको संविधान र कानूनमा सच्याउनुपर्ने माग राख्दै तेस्रो दिन पनि धर्ना दिएका छन् । आफ्नी नाबालिका छोरीको बलात्कारपछि क्रूर हत्याका अपराधीलाई मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने भन्दै कानुन संशोधन गर्न माग गरेका हुन् । उनले गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानून संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने चौधरीको भनाई छ । छोरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ । यसअघि मृतक गरिमाका बुवा चौधरीलाई थाहै नदिई बिहीबार साँझमा प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए ।बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध बनेको हो । बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडक छाड्न मानेका छैनन् ।

सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँचबुदे सहमति गरेका थिए । मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिइएको र त्यसमा आफ्नो सहमति नरहेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सडक खुलाउने प्रयास भएपछि स्थानीयबासीले मृतकका परिवारलाई रुवाएर सडक नखोल्न चेतावनी दिएका छन् । एक स्थानीयले सडक खुल्नुपर्ने पक्षमा आफूहरू पनि रहेको र त्यसका लागि प्रशासनले परिवारको सहमति लिनुपर्ने स्थानीयले बताएका छन् ।