काठमाडौं । शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारपछी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् । प्रहरीका अनुसार शुक्रबार होस्टलमै बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको जनाएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






















































