झापा । झापा मेचीनगर नगरपालिका–७ की ७७ वर्षीया पदमकुमारी खड्काको उपचार परिवारको ध्यान पुगेको छ । एकदिन अघि खड्काको अवस्थाबारे समाचार तथा भिडियो सार्वजनिक भएसँगै परिवारको ध्यान आमाका लागि पुगेको हो । केही सञ्चारकर्मीले पर्याप्त धन सम्पत्ति र सन्तान भएर पनि बुढेसकालमा छोराबुहारीबाट उचित हेरचाह र सहारा नपाएको पीडादायी कारुणीक भिडियो प्रशारण गरेसँगै सञ्चारकर्मीकै पहलमा उपचारका लागि अस्पताल पुर्याइएको हो । हाल भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको छ । उनको स्वास्थ्य परीक्षण सुरु गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
वृद्धाका श्रीमान्, दुई छोरा, दुई छोरी तथा नातिनातिना छन् । आर्थिक अवस्था पनि राम्रै छ । उमेरवृद्धि हुँदै जादा पदमकुमारीको शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा पुगेको थियो । सोही अवस्थाकै कारण पदमकुमारीलाई परिवारले वास्ता नगरेको देखिन्थ्यो । उनी वस्ने ठाउँको अवस्था पशुसरहको व्यवहार गरेको महशुस हुन्थ्यो । उनी बस्ने ठाउँ चौपायाँ बस्ने गोठभन्दा कमी थिएन ।
वृद्धावस्थामा पुगेकी उनलाई सफा र सुरक्षित बसोबास, पोषिलो नियमित खाना, स्वास्थ्य उपचारको आवश्यकता हुने भए पनि परिवारबाट उक्त सुविधाबाट वञ्चित भएकी उनी दिसापिसाब एकै ठाँउमा हुने भएकाले शरीरभर घाउ निस्किएको थियो ।  
वृद्धाको हेरचाह र संरक्षणको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह परिवारले नगरेको देखिएको थियो । उनको माइती परिवार मेचीनगर-७ मै छन् । दुई छ‍ोरा, छोरी र माइती सबै एउटै वडामा बसोबास गर्दै आएपनि ती वृद्धा पदमकुमारीलाई खासै वास्था नगरेको प्रष्ट देखिन्छ ।
जेठा छोरा अजित खड्काले आमाको अवस्थाबारे आफूहरू जानकार रहेको बताउँदै सकेको औंषधी उपचार गरिरहेको बताए । उनले आमाको यो अवस्था एक सातादेखि मात्रै आएको र अब उपचारका लागि काठमाडौं लैजाने बताउँछन् । सासुसंगै रहेकी जेठी बुहारीले आफुले स्यहारसुसार गरिरहेको प्रतिक्रिया दिन्छन् ।पदमकुमारीको अवस्थाबारे कान्छा छोराले पनि दाजुभाउजुकै भनाइमा साथ दिँदै आमालाई निको पार्न धेरै ठाउँ उपचारका लागि लगिएको र अब पनि लाने परिवारबीच सल्लाह भइरहेको बताउँछन् । छोराबुहारी तथा अन्य परिवारजनले आमाको हेरचाहमा आफूहरू भूमिकामै रहेको दाबी गरेपनि बासस्थल र स्वास्थ्योवस्था बुझ्दा हेरचाह र उपचार नभएको दृष्य देखेर जो कोहीले पनि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।