चितवन । चितवनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै जना गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका मोटरसाइकल चालक ३२ वर्षका पुरुषको दिउँसो १ः५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको र पछाडी सवारी अन्दाजी २६ वर्षकी महिलाको दिउँसो २ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको अझै पनि सनाखत भएको छैन । शवको सनाखतको प्रक्रियामा रहेको र साँझसम्ममा सनाखत हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभुषण यादवले जानकारी दिए । प्रहरीले बस चालक सर्लाही हरीवन नगरपालिका–८ बस्ने वर्ष ५१ का अजय कुमार मास्केलाई नियन्त्रणमा लिएको छ । ती दुवै सवारी इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।






















































