झापा । पूर्वी नाका २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी कुल २४ अर्ब २६ करोड ७४ लाख बराबरको कृषिउपज नेपाल भित्रिएको हो । ​कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार आयातीत कृषि सामग्रीमा सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको छ । भारतबाट २४ करोड २३ लाख १३ हजारको चामल तथा १८ करोड ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजार मूल्य बराबरको एक हजार ९९६ मेट्रिकटन चना तथा अष्ट्रेलियाबाट १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिकटन मासको दाल भित्रिएको तथ्याङ्क छ।

​ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी भित्रिएका छन् । गत एक वर्षमा रु १४ करोड ३९ लाख ६६ हजारको गोलभेडा, सात करोड ९० लाख ६४ हजारको काँक्रा र तीन करोड २४ लाख ३५ हजार बराबरको खुर्सानी आयात भएको छ।

​यसैगरी फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । सो अवधिमा भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजारको स्याउ तथा भारतबाट मात्र १४ करोड २४ लाख ८१ हजारको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।