झापा । औषधि व्यवसाय सञ्चालनमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । मोरङको रमितेमा सम्पन्न औषधि व्यवसायीहरूको संयुक्त भेलाले व्यवसायीका हकहित तथा पेशागत समस्याका विषयमा दुईबुँदे निर्णय गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गरेको हो ।
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाको आयोजनामा भएको भेलाले औषधि व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
भेलामा झापा, मोरङ र सुनसरीका औषधि व्यवसायी तथा संघका प्रतिनिधिहरूको सहभागिता थियो । व्यवसायीहरूले औषधि बिक्री–वितरणमा देखिएका समस्या, सरकारी निकायबाट हुने अनुगमन तथा कारबाही, व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका व्यवहारिक कठिनाइ र राज्यका नीति–नियमका कारण उत्पन्न समस्याबारे धारणा राखेका थिए ।
व्यवसायीहरूले औषधि व्यवसायलाई अन्य व्यापारिक क्षेत्रको रूपमा मात्रै नहेरी स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्रका रूपमा व्यवहार गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले व्यवसायीलाई अनावश्यक दुःख दिने तथा व्यवहारिक समस्या नबुझी गरिने अनुगमन र कारबाहीप्रति समेत असन्तुष्टि जनाएका छन् ।
भेलाले व्यवसायीका जायज माग र समस्याका विषयमा सम्बन्धित सरकारी निकायसँग तत्काल संवाद तथा पहल गर्ने निर्णय गरेको छ । माग सम्बोधनमा बेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्ने चेतावनी व्यवसायीहरूले दिएका छन् ।
औषधिको सहज उपलब्धता, व्यवसायीको पेशागत सुरक्षा तथा उपभोक्ताको हितलाई समेत ध्यानमा राख्दै समस्या समाधानका लागि सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको भेलामा सहभागीहरूको भनाइ थियो ।
संघले आन्दोलनलाई प्रभावकारी बनाउन प्रदेश तथा जिल्लास्तरका व्यवसायीलाई समेत एकताबद्ध गर्दै आगामी कार्यक्रम अघि बढाउने जनाएको छ ।























































