एजेन्सी । नर्वेमा एक २३ वर्षीया महिलालाई ३१ वर्षीय पुरुषमाथि बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गर्दै ९ महिनाको जेल सजाय सुनाएको छ । घटना अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेको छ । बर्गेन जिल्ला अदालतले महिलालाई पीडित पुरुषलाई ४० हजार नर्वेजियन क्रोनर क्षतिपूर्ति दिनसमेत आदेश दिएको थियो । घटना सन् २००४ जनवरीमा भएको थियो । अदालतमा दिइएको बयानअनुसार ती पुरुष पार्टीपछि महिलाले आफ्नो प्रेमीसँग साझा गरेको अपार्टमेन्टको सोफामा निदाएका थिए । निदाइरहेको अवस्थामा महिलाले उनीसँग यौन सम्पर्क गरेपछि आफू ब्युँझिएको पुरुषले अदालतमा बताएका थिए ।
महिलाले सुरुमा यौन सम्पर्क नै नभएको दाबी गरेकी थिइन् । पछि यौन सम्पर्क भएको स्वीकार गरे पनि पुरुषको सहमतिमै भएको उनको जिकिर थियो। तर अदालतले पुरुषको सहमति नरहेको निष्कर्ष निकाल्दै महिलालाई बलात्कारको कसुरमा दोषी ठहर गर्यो ।
अदालतका अनुसार नर्वेको कानुनमा व्यक्ति बेहोस, निदाएको वा प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेको बेला गरिने गैरसहमतिको यौन सम्पर्कलाई बलात्कार मानिने व्यवस्था थियो । यही कानुनी प्रावधानअनुसार महिलालाई सजाय सुनाइएको हो । पीडित पुरुषले घटनापछि आफूलाई निद्राको समस्या भएको र यौन सम्बन्धप्रति रुचि निकै घटेको अदालतमा बताएका थिए । उनले घटनालाई विश्वासमाथिको गम्भीर आघातका रूपमा समेत वर्णन गरेका थिए । त्यतिबेला नर्वेली सञ्चारमाध्यमले यसलाई महिला बलात्कारको कसुरमा दोषी ठहर भएको देशकै पहिलो घटनाका रूपमा रिपोर्ट गरेका थिए । महिलाका वकिलले भने फैसलाविरुद्ध अपिल गर्ने सम्भावना रहेको बताएका थिए























































