विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट स्पष्ट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो ।

प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले त्यसको तुलनामा १० मत बढी प्राप्त गरे । उनको पक्षमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २२ सांसद उभिए । कोशी प्रदेशसभामा कांग्रेसका २९ सदस्य रहे पनि सोमबारको बैठकमा सात जना उपस्थित भएनन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच सांसदले मतदान प्रक्रियामा फरक भूमिका अपनाएका छन् । राप्रपाका चार सांसदले ‘मत दिन्न’ भन्ने पक्षमा मतदान गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् । सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

एमाले–नेकपा सहकार्यलाई कार्कीको जोड:

विश्वासको मत लिनुअघि प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्य दीर्घकालीन रूपमा अघि बढ्ने दाबी गरेका थिए।

उनले सत्ता सहकार्य केवल मन्त्री बनाउने वा सरकार टिकाउने उद्देश्यमा सीमित नभएको जिकिर गर्दै प्रदेशको विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि सहकार्य आवश्यक रहेको बताएका थिए।

५७ मत प्राप्त गरेसँगै कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाबाट तत्कालका लागि राजनीतिक वैधता र बलियो समर्थन प्राप्त भएको छ। विपक्षमा कांग्रेसको २२ मत र राप्रपाको ‘मत दिन्न’ पक्षको निर्णयले भने प्रदेशसभामा सत्ता र प्रतिपक्षबीचको राजनीतिक ध्रुवीकरण कायमै रहेको संकेत गरेको छ।

बहुमतका लागि आवश्यक ४७ मतभन्दा १० मत बढी प्राप्त गर्नुले एमाले–नेपाली कम्युनिस्ट पार्टीबीचको वर्तमान सत्ता समीकरणलाई तत्कालका लागि बलियो बनाएको देखिएको छ।