झापा । नेपाल हुँदै बैंकक जाने भन्दै पूर्वी नाका पानीटंकी पुगेका एक अफगान नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका छन् । भारतको पानीटंकीस्थित इन्टिग्रेटेड चेक पोस्ट (आईसीपी) मा नेपालतर्फ जाने ‘एक्जिट परमिट’ लिन पुगेका ती अफगान नागरिकलाई आइतबार अधिकारीहरूले शंकाका आधारमा नियन्त्रणमा लिएका हुन् । प्रारम्भिक सोधपुछ तथा उनको मोबाइल फोनको जाँचका क्रममा विभिन्न शंकास्पद विवरण फेला परेको अधिकारीहरूले बताएका छन् । प्राप्त जानकारीअनुसार ती अफगान नागरिक सन् २०१७ मा वैध भिसामार्फत भारत प्रवेश गरेका थिए। त्यसपछि उनी हावडा र कोलकातामा बस्दै आएका थिए। उनको भारतीय भिसाको अवधि भने सन् २०२२ मै समाप्त भएको बताइएको छ । जाँचमा संलग्न अधिकारीहरूका अनुसार भारतमा लामो समय बस्ने क्रममा उनले भारतीय पासपोर्ट, आधार कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड र मतदाता परिचयपत्रलगायतका कागजात बनाएको विवरणसमेत फेला परेको छ । आइतबार पानीटंकी आईसीपी पुगेका उनले नेपाल हुँदै बैंकक जान लागेको भन्दै नेपाल प्रवेशका लागि एक्जिट परमिट मागेका थिए । तर उनको भनाइ, व्यवहार र गतिविधिमा शंका लागेपछि अधिकारीहरूले मोबाइल फोन जाँच गरेका थिए ।मोबाइलमा भेटिएको एउटा फेसबुक संवादको स्क्रिनसटमा एक व्यक्तिले उनलाई तत्काल बैंकक जान सुझाव दिएको देखिएको अधिकारीहरूले बताएका छन् । थप जाँचका क्रममा पाकिस्तानका विभिन्न फोन नम्बरहरूसँग सम्पर्क भएको विवरण समेत फेला परेको दाबी गरिएको छ ।घटनापछि ती अफगान नागरिकलाई थप अनुसन्धानका लागि खोरीबारी थानामा बुझाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले भारतमा बसेर विभिन्न परिचयपत्र तथा कागजात कसरी बनाए, नेपाल हुँदै बैंकक जान खोज्नुको वास्तविक उद्देश्य के थियो र पाकिस्तानी नम्बरहरूसँगको सम्पर्कको प्रकृति के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । घटनाले पूर्वी नेपाल–भारत सीमा क्षेत्रमा तेस्रो मुलुकका नागरिकको आवागमन र सीमा सुरक्षा निगरानीमाथि समेत प्रश्न उठाएको छ ।





















































