काठमाडौं । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूको लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन मन्त्रालयले यस्तो निर्देशन दिएको छ । १. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने। २. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने । ३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने । ४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने ।५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने ।