चारआली।नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन झापाको चारआलीस्थित चारआली पार्टी प्यालेसमा भव्य समारोहका बीच सुरु भएको छ। युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको मूल एजेन्डामाथि वृहत् छलफलसहित सुरु भएको दुई दिने सम्मेलनका प्रमुख अतिथि एवं सन् २०२६ का लागि नेपालका लागि निरुपित जेसीआई उपाध्यक्ष सिनेटर केन्जो सुजुकीले पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि केन्जो सुजुकीले युवाहरूलाई स्पष्ट उद्देश्य निर्धारण गरी “एम्, एक्ट र एचिभ” तथा “द पावर अफ जेसीज” लाई कार्यान्वयनमार्फत उपलब्धिमा रूपान्तरण गर्न प्रेरित गर्दै अघि बढ्नुपर्ने बताएका थिए । उनले युवाको नेतृत्व विकाससँगै स्थानीय व्यापार, आर्थिक र पर्यटकीय गतिविधिमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास गरेको बताएका थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जिवन कार्की, कोशी प्रदेश सभा सदस्य सबिना बजगाई, निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा, निरुपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई र सम्मेलनका सभापति योगेश राजबंशी, चारआली जेसीसका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाललगायतले युवा नेतृत्वको आवश्यकता र जेसीजको शक्तिबारे आ-आफ्नो महत्त्वपूर्ण भनाइ राखेका थिए । पूर्व क्षेत्रका ४६ भन्दा बढी जेसीज शाखाबाट करिब १ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको जेसीजको क्षेत्र ‘क’ सम्मेलनमा नेपाल जेसीजको गरिमालाई उच्च राख्दै जेसीज अभियानमा अतुलनीय योगदान पुर्याउने विभिन्न शाखाहरू र व्यक्तित्वहरूलाई भव्य रूपमा सम्मान गरिएको थियो।
सम्मेलनअन्तर्गत युवाहरूको व्यक्तित्व र दक्षता अभिवृद्धिका लागि देशका प्रबुद्ध एवं स्थापित विज्ञ व्यक्तिहरूबाट सहभागीहरूलाई विशेष तालिम तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। थिममा आधारित प्यानल डिस्कसन र विशेष सत्रहरूमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद राजन गौतम, वरिष्ठ पत्रकार टिकाराम यात्री, सिनेटर जगतबहादुर पोखरेल, सिनेटर भोलेश्वर दुलाल, पत्रकार चन्द्र भण्डारी, डा. भिक्टर इग्नासियस जोसेफ, सिनेटर प्रकाशप्रसाद अधिकारी र डा. प्रियंका कटुवाल जस्ता प्रबुद्ध व्यक्तित्वहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यसका साथै, प्रविधिको आधुनिक प्रयोगका लागि सुनिल शर्मा र प्रमोदकुमार सोनीबाट डिजिटल मार्केटिङ र जेनेरेटिभ एआई तथा जेसी राजिब गौतम र हरिभक्त शर्माबाट वित्तीय साक्षरता तथा लगानी सम्बन्धी विशेष प्रशिक्षण सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ। चारआली जेसीजका अध्यक्ष जेसी संजय निरौलाको सभापतित्व तथा सम्मेलन निर्देशक जेसी उत्तमकुमार पकुवालको व्यवस्थापकीय नेतृत्वमा सम्पन्न उद्घाटन समारोहमा आयोजक जेसीजका सचिव विरु वेघाले सञ्चालन गरेका थिए ।





