इलाम । बोलेरो दुर्घटना हुँदा इलाममा पाँचजना घाइते भएका छन् । आज सोमबार बिहान इलाम माङ्सेबुङ गाउँपालिका-२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडक खण्डमा आरुबोटेबाट दमकतर्फ आउँँदै गरेको मे १ ज ३३४७ नं. को बोलेरो अनियन्त्रित भइ सडकको बायाँतर्फ अन्दाजी ५० मिटर तल झरेर दुर्घटना भएको हो ।दुर्घटनामा चालक पाँचथर मिक्लाजुङ ३ बस्ने वर्ष ३६ का खेमराज मगर ( दाहिने आँखाको तल र दाहिने कुममा सामान्य चोट लागेर घटनास्थलमा नै रहेको, चालक नियन्त्रणमा रहेको), मिक्लाजुङ-५ बस्ने वर्ष ४३ की मनकुमारी लावती (बायाँ पाखुरा तथा शरीरको विभिन्न भागमा चोट, अवस्था बोल्न सक्ने सामान्य), मनकुमारी लावतीकी छोरी वर्ष १२ की लामसिमी लावती (दाहिने आँखामा गहिरो चोट अवस्था बोल्न नसक्ने, गम्भीर रहेकोमा दिउँसो २ः४० बजे थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर भएको), मनकुमारी लावतीका छोरा २३ महिनाको लाम्सेमा लावती ( टाउकोमा चोट, अवस्था मध्यम) र तुम्बेवा १ बस्ने वर्ष २१ का जनक तामाङ (दाहिने पाखुरामा चोट, अवस्था सामान्य) रहेका छन् ।दुर्घटनाबारे प्रहरी चौकी इभाङमा जानकारी प्राप्त हुनसाथ इभाङ र प्रहरी चौकी साकफाराबाट प्रहरी टोली खटिएको थियो । घाइतेहरुलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।