चारआली । लामो समयदेखि सञ्चालन अनुमति प्रक्रिया पूरा नगरेको पाएपछि झापाको मेचीनगर-१३ स्थित चारआलीको मनकामना हस्पिटल शिल गरिएको छ । स्वास्थ्य संस्थाबाट सञ्चालन अनुमति नलिएको, दर्ता नवीकरण नगरेको, सम्बन्धित बिभागबाट स्वीकृत नलिएको र तोकेका मापदण्ड पूरा नगरी सेवा सञ्चालन भइरहेको पाइएपछि मेचीनगरको स्वास्थ्य शाखासहितको अनुगमन टोलीले मंगलबार अस्पताल बन्द गराएको हो । अनुगमन टोलीले म्याद नाघेका औषधिहरू पाइएकाेले अस्पताल शिल गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटाले जानकारी दिइन् ।
अस्पतालका सञ्चालक डाक्टर दीलिपकुमार यादवले आवश्यक कागजात पुरा नगरी, म्याद नाघेका औषधि प्रयाेगका लागि राखिएको र अटेर गरेर सञ्चालन गरेकाेले स्थानीय, जनप्रतिनिधि र अस्पतालका कर्मचारीकाे राेहवरमा अस्पताल शिल गरिएको अनुगमन टाेलीका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए । यसअघि २०८२ असोज ३० गते स्वास्थ्य शाखासहित स्वास्थ्य कार्यालय झापाले हस्पिटलका सञ्चालक डा. यादवलाई आवश्यक प्रक्रिया पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसपछी समन्वयको आधारमा ६ महिनामा कानुनी प्रक्रिया पूरा गर्न शाखाले निर्देशन दिएको थियो ।
उक्त समयावधि पूरा भएपनि सञ्चालकलाई तीन पटकसम्म प्रक्रिया पूरा गर्न पत्राचार गरेको थियो । मेचीनगरको स्वास्थ्य शाखाले गरेको उक्त पत्रचार उल्लंघन गर्दै दर्ता-नवीकरण तथा प्रक्रिया पूरा गर्न आलटाल गरेको भन्दै थप कडाइ गर्दै सेवा सञ्चालनमा रोक लगाएको हो ।
सम्बन्धित निकायले स्वास्थ्य संस्था सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ। कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गर्ने कुनै पनि संस्थालाई नियमअनुसार कारबाही तथा सञ्चालनमा रोक लगाउन सकिने कानुनी ब्यवस्था अनुसार कार्वाही गरेको मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सापकोटाले जानकारी दिइन् ।
स्थानीय स्वास्थ्य शाखाले मनकामना हस्पिटललाई आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएकोसमेत उनको भनाई छ ।





