झापा । २८ सालको झापा आन्दोलनका योद्धा तथा २०३३ साल चैतमा भएको नख्खू जेल ब्रेकमा संलग्न १५ जना वामपन्थी नेतामध्येका घनेन्द्र बस्नेतको निधन भएको छ । फोक्सो र घाँटीको क्यान्सरबाट पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

७१ वर्षीय बस्नेत क्यान्सर पुष्टि भएपछि लामो समयदेखि उपचाररत थिए। उनको भारतमा समेत उपचार गरिएको थियो। भारतबाट नेपाल ल्याएर केही समय घरमै राखिएका बस्नेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका लागि आर्थिक अभाव भएपछि केही समयअघि उनको उपचारमा सहयोग जुटाउन ‘घनेन्द्र बस्नेत जीवन रक्षा अभियान’ समेत सञ्चालन गरिएको थियो।

झापा किसान विद्रोहमा सक्रिय हुँदा २१ वर्षको उमेरमा पक्राउ परेका बस्नेतले आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण समय जेलमै बिताएका थिए। उनी करिब १७ वर्ष जेलमा रहेको बताइन्छ।

बस्नेत २०३३ साल चैतमा नख्खू कारागारबाट भएको जेल ब्रेकमा संलग्न १५ जना वामपन्थी नेतामध्ये एक थिए। लामो समय जेल जीवन बिताएका बस्नेतको राजनीतिक जीवन झापा आन्दोलन र त्यसपछिको वामपन्थी आन्दोलनसँग जोडिएको थियो।

क्यान्सरसँग लामो समय संघर्ष गरेका बस्नेतको आज उपचारकै क्रममा निधन भएको हो ।