भद्रपुर । सघीय सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि अलपत्र रहेका महत्वपूर्ण नदीका पुलहरू एक–दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् । झापाको मेची–महाकाली हुलाकी सडक यात्राका क्रममा झापा आइपुगेका उनले कन्काई, कमला र बागमती नदीमा निर्माणाधीन पुलहरूलाई प्राथमिकताका साथ अघि बढाएर एक–दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका हुन्। हुलाकी राजमार्गअन्तर्गतका महत्वपूर्ण पुल तथा सडक पूर्वाधार निर्माणमा लामो समयदेखि ढिलाइ हुँदै आएको भन्दै उनले सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए। मेचीदेखि महाकालीसम्मको यात्राका क्रममा आफूले सडक, पुल, किसान, युवा, शिक्षा, स्वास्थ्य तथा स्थानीयस्तरका विकास निर्माणसँग सम्बन्धी समस्या प्रत्यक्ष रूपमा बुझिरहेको सांसद सिंहले बताए। उनले नेताहरूले भाषण मात्र गर्नेभन्दा गाउँ–बस्तीमा पुगेर जनताका समस्या प्रत्यक्ष सुन्नुपर्ने धारणा राख्दै आफू मेची–महाकाली यात्रामा निस्किएको बताए ।सांसद सिंहलाई यात्राका क्रममा हुलाकी राजमार्गको अवस्था, निर्माणाधीन अलपत्र पुलहरू तथा स्थानीयवासीले भोग्दै आएका समस्याका बारेमा ध्यानाकर्षण गराइएको छ । झापामा हुलाकी सडकअन्तर्गत कन्काई नदीको पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आएका छन्। पुल निर्माण सम्पन्न भए झापा, मोरङ, सुनसरीसहित पूर्वी तराईका जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।





