झापा । इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूले लामो समयदेखि उपलब्ध गराउँदै आएका सस्ता तथा कम गतिको इन्टरनेट प्याकेजहरू अब उपलब्ध गराउन नसक्ने जनाएका छन्। आइएसपीहरूको तर्फबाट संस्थाका अध्यक्ष सुधीर पराजुलीले जारी गरेको विज्ञप्तिमा आगामी सोमबारदेखि सस्ता तथा कम स्पिडका प्याकेज उपलब्ध हुने छ्रैनन् ।

पछिल्ला वर्षमा भएको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, उच्च मुद्रास्फीति तथा एआइ प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स र चिपसेटको मूल्य बढेका कारण आइएसपीहरूको सञ्चालन खर्च बढेको दाबी छ। उनीहरूले विगत १२ वर्षमा नेपालमा इन्टरनेटको पहुँच उल्लेख्य रूपमा विस्तार भएको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व तथा पहुँच दक्षिण एसियामै अग्रस्थानमा रहेको जानकारी दिएका छन्। तुलनात्मक रूपमा सस्तो इन्टरनेटका कारण सेवा अधिकांश घरधुरीसम्म पुगेको हो ।

कोरोना महामारीदेखि भोटेकोशी बाढीसम्मका विभिन्न परिस्थितिमा समेत इन्टरनेट सेवा निरन्तर सञ्चालन गर्न आइएसपीका कर्मचारीले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ। यसैबीच आइएसपीहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउन तथा नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा स्पष्ट रूपमा सार्वजनिक गर्न आग्रह गर्दै ग्राहकलाई सेवा लिएवापत अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरिएको छ। 
आइएसपीहरूको यस्तो घोषणाले अब सस्तो इन्टरनेट प्याकेज हटेपछि ग्राहकले तिर्नुपर्ने शुल्क र सेवा छनोटमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न उठेको छ। यद्यपि नयाँ दर तथा प्याकेजका सम्बन्धमा सम्बन्धित आइएसपी र नियामक निकायबाट थप स्पष्टता आवश्यक देखिएको बताइन्छ ।