मेचीनगर । प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् । आज बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बस्ने ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित चिठ्ठा राखी बिक्री वितरण गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शेर्पालाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गरेको थियो ।

त्यस क्रममा रोयल लेखिएको भारतीय चिठ्ठा थान–१३ बुङ (प्रतिबुङ १०० पिसका दरले जम्मा १३०० थान) र नेपाली नगद रूपैयाँ १००० दरको नोट १८ थान गरी रु. १८ हजार , ५०० दरको नोट २४ थान गरी रु. १२ हजार , १०० दरको नोट ६१ थान गरी रु. ६ हजार १०० र ५० दरको नोट ८ थान गरी रु. ४०० गरी जम्मा रु. ३६ हजार ५०० नगद बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।