काठमाडौं । साउदी अरबको राजधानी रियादमा आइतबार आज बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ । समाचार संस्था एएफपीका अनुसार विस्फोट हुनुअघि सहरका बासिन्दालाई हवाई खतराबारे सचेत गराउँदै मोबाइलमा सन्देश पठाइएको थियो ।
उक्त सन्देशमा मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको थियो । यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले हुथी विद्रोहीले प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको दाबी गरेको छ । यद्यपि, रियादमा सुनिएका विस्फोटका आवाज क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएसँग सम्बन्धित थिए वा थिएनन् भन्ने स्पष्ट भइसकेको छैन ।
घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भए-नभएकोबारे पनि हालसम्म जानकारी सार्वजनिक भएको छैन । घटना यमनका हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबका विमानस्थल तथा तेल केन्द्रहरूलाई लक्षित गरी आक्रमण तीव्र बनाइरहेका बेला भएको हो । हुथी विद्रोहीले आगामी दिनमा पनि यस्ता आक्रमण जारी राख्ने चेतावनी दिएका छन् ।





